झापा, असार ११ । राष्ट्रगान सयौ थुँगा फुलका हामी एउटै माला नेपालीका गायक अजय थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु भएका गायक थापालाई कोरोना संक्रमण भएपछि एक साता अघि विर्तामोड स्थित बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा शुक्रबार आज विहान ७ बजेतिर भ्यान्टिलेटरमै मृत्यु भएको परिवारले जनाएको छ ।
अम्बर गुरुङको सङ्गीत र व्याकुल माइलाको रचना रहेको राष्ट्रगान राजतन्त्रको अन्त्यपछि २०६४ साउन १४ गतेदेखि नेपालमा लागू गरिएको हो ।
उक्त गीतमा मेचीनगर–२ दिपज्योती टोल घर भएका अजय थापासहित १० जना गायक र १० जना गायिकाले स्वर भरेका छन् ।
उनकी पत्नी राधा थापा पनि केही दिन अघि कोरोना संक्रमित भई हाल होम आईसुलेशनमा छिन् । उनका दुई छोरी र एक छोरा अमेरिका अध्ययनका लागि गएका छन् ।
बुवाआमा विरामी भएपछि अमेरिकाबाट छोरीहरु विहीवार काठमाडौं आइपुगेका छन् भने छोरा २९ तारिख नेपाल आइपुग्ने छन् । स्व थापाको अन्त्यष्टी छोरा आएपछि मात्र गर्ने परिवारस्रोतले जनाएको छ ।

