संघ \संस्था

अर्जुनधारा नगरपालिकाको नगरसभा सम्पन्न

अर्जुनधारा, असार २५ । अर्जुनधारा नगरपालिकाको नगरसभाको नवौँ नियमित अधिवेशन सम्पन्न भएको छ ।अर्जुनधारा ७ स्थित पितृ भवनमा बसेको अन्तिम बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष हरिकुमार रानाले नगरपालिकाको आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम र बजेट, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ संयुक्तरुपमा निर्णयार्थ सभासमक्ष प्रस्तुत गरेका थिए ।

सभामा बोल्ने सदस्यहरु नगर गौरवको योजना शनिश्चरे बजारमा मात्र केन्द्रित भएको भन्दै पर्यापर्यटन, धार्मिक क्षेत्रलाई नसमेटिएको गुनासो गरे । यस्तै, खेलकुद, युवा र कला साहित्यलाई बजेट न्यून भएको भन्दै समावेश गरिदिन आग्रह गरे ।सभामा सदस्यहरु खड्गमाया पराजुली, देवीमाया घिमिरे, रिता नेपाली, देवकुमार राई, अर्जुन मेचे, भोला गौतम, सिताराम भट्टराई, सुशिला सुवेदी, होम दुलाल, सेवन्त ढकाल, सइकुमार राई र सीता रणपहेलीलगायतले आफ्ना धारणासहितको सुझाव राखेका थिए ।

नगरसभाको अन्तिम बैठकमा उठेका सवालहरुको उपप्रमुख कमला खतिवडा आचार्यले जवाफ दिएकी थिइन् ।सभाका अध्यक्ष रानाले नगरसभामा प्रस्तावित विधेयकमाथि छलफल गरी नीति, कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९को लागि ४३ करोड २६ लाख तीन हजार दुई सय ३० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।