संघ \संस्था

भानु पत्रकारिता पुरस्कारबाट प्रधान सम्पादक पौडेल पुरस्कृत

मेचीनगर, असार २९ । जन-संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल पुरस्कृत भएका छन् ।

भानुभक्त आचार्यको २०८ औं जन्मजनयन्तीको अवसरमा काँकरभिट्टामा मंगलबार आयोजित एक कार्यक्रमका बीच पत्रकार मुक्ति पौडेललाई भानु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

भानु साहित्यक प्रतिष्ठानले आचार्यको जन्मजयन्तीको अवसरमा पत्रकार पौडेललाई पत्रकारिताको क्षेत्रमा लामो समय काम गर्दै नेपाली साहित्य र समाजलाई पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको हो ।

पौडेललाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम कार्की, प्रतिस्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, संविधान सभा सदस्य रवीन कोइराला, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख विमल आचार्यलगायतले नगद २१ हजार रुपैयाँ, दोसल्ला, सम्मान पत्र तथा ढाका टोपीसहित सम्मान गरे ।

कार्यक्रमका वक्ताहरुले नेपाली साहित्यको क्षेत्रमा भानुभक्तले पुर्याएको योगदानको चर्चा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि कार्की, अतिथिहरु संविधान सभा सदस्य कोइराला, प्रदेश सभा सदस्य मैनाली, प्राज्ञ सदस्य शुभद्रा अर्याल, नगर प्रमुख आचार्य, उप प्रमुख मीना उप्रेती, , नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलगायतले मन्तब्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरे तथा सञ्चालन प्रतिष्ठानका सचिव सुशिल आचार्यले गरेका थिए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगरका साहित्यिक ब्यक्तित्व, पत्रकार तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।