राजनीति

माधव पक्षसंगै ओली पक्षका यी ८ पूर्वमन्त्री र सांसद्ले पनि दिए देउवालाई मत (नाम सहित)

काठमाडौं, साउन ४ । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् ।

त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, दाँङका हिराचन्द्र केसी, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

तर माधव पक्षका एमाले सांसदहरु भिम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषाललगायत दश जनाले देउवालाई विश्वासको मत दिएनन् ।

आइतबार नयाँबानेश्वरस्थित संसद् भवनमा विश्वासको मत माग्दा देउवाले १६५ सांसदको मत पाए । विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ ।

उपस्थित सांसद संख्या २४९ रहेकोमा विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ । प्रधानमन्त्री देउवाले बहुमतका लागि आवश्यक १३६ मतभन्दा बढी विश्वासको मत पाएका छन् ।