झापा, श्रावण ४ । आफ्नी ३४ वर्षीया श्रीमतीको हत्या गरी फरार सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ रंगेली नगरपालिका वडा नम्बर-९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर-१ शितल चोक बस्ने ३९ वर्षीय श्रीमान रिख्यासनलाई प्रहरीले श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो ।
उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनीमाथि आफ्नी ३४ वर्षीया श्रीमती संगीता टुडुको हत्या गरेको आरोप छ ।
गत बिहीबार बिहान रिख्यासनले आफ्नी श्रीमती संगीतालाई खेत नजिकैको टहरामा लगेर निर्ममतापूर्वक हत्या गरी फरार रहेका थिए ।
उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

