नरेन इलामेली
इलाम, भदौ १० । इलामको माइजोगमाई गाउँपालिकामा विभिन्न समयमा संचालन भएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानमा हाल सम्म चार हजार बढीले खोप लगाएका छन् । चार चरणमा संचालन भएको खोप अभियानमा कोभिसिल्ड, भेरोसिल र जोनसन गरी हाल सम्म चार हजार दुई सय ३३ जनाले खोप लगाएको माइजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गाउँपालिकामा पहिलो चरणमा सञ्चालित खोप अभियानमा गाउँपालिकाका ८९ जना जनप्रतिनिधी तथा कर्मचारीले खोप लगाएका छन् भने एक हजार एक सय नौ जना ६५ बर्ष माथिका जेष्ठ नागरिकले खोप लगाएका छन् ।उनीहरुले भारतिय कम्पनीको कोभिसिल्ड खोप लगाएका हुन् । त्यस्तै दोश्रो चरणमा सञ्चालन भएको खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समुहका तीन सय २१ जनाले चिनियाँ कम्पनीको भेरोसिल खोप लगाएका छन् ।
यता तेस्रो चरणमा सञ्चालित खोप अभियानमा ५५ बर्ष माथिका अघिल्लो अभियानमा छुटेका नागरिक , शिक्षक तथा चालकहरु गरी एक हजार पाँच सय ७ जनाले कोभिड १९ विरुद्धको चिनियाँ कम्पनीको भेरोसिल खोप लगाएका छन् भने चौथो चरणको खोप अभियान अन्तर्गत ५० बर्ष माथिका एक हजार एक सय ४० जनाले अमेरिकी कम्पनी जोनसनको खोप लगाएको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।
एक हजार दुई सय बढीले लगाए पूर्ण मात्रा खोप
गाउँपालिकामा हाल सम्म विभिन्न उमेर समुहका एक हजार दुई सय बढीले पूर्ण मात्रा खोप लगाएका छन् । गाउँपालिकाका ८९ जना जनप्रतिनिधी तथा कर्मचारीले भारतीय कम्पनीको कोभिसिल्ढ खोपको दुवै मात्रा लगाएका छन् भने ५० बर्ष माथिका एक हजार एक सय ४० जनाले अमेरिकी कम्पनीको जोनसनको खोप लगाएका स्वास्थ्य शाखाका अहेव दीपजंग खनालले बताए अमेरिकी कम्पनी जोनसनको खोप एक डोज लगाए पुग्छ ।

