
शाक्यमणी आचार्य
झापा, बैशाख २२ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ ।
महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको शालिक किरात गुरु आत्मानन्द लिङदेन र प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्द तम्याहाङले संयुक्त रुपमा अनावरण गर्ने कार्यक्रम रहेको समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।
झापा सितापुरीका मूर्तिकार भक्त राईले एउटै ढुंगाबाट तयार पारेको उक्त शालिक ६ फिट गोलाइमा १५ फिटको उचाइको रहने बताइएको छ । मूर्तिको तौल ६ क्वीन्टल रहेको छ । मूर्ति निर्माणका लागि अर्जुनधारा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको समिति जनाएको छ ।
शालिक स्थापना गर्न करिब १३ लाख खर्च हुने अनुमान गरिएको छ । अनावरण कार्यक्रममा झापा, इलाम, पाँचथरलगायतका किरात धर्मावलम्वीहरुको सहभागिता रहने बताइएको छ ।

