मेचीनगर । आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पूर्वी नेपालको मेचीनगर नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालिसकेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्।
नेकपा एमालेबाट मेचीनगरमा मेयर र उपमेयर पदको आकांक्षी :
नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदको उम्मेद्वारको टुंगो लगाउन छलफल सुरु गरेको छ । एमालेबाट मेयरमा ७ र उपमेयर पदमा ७ जना आकांक्षी देखिएका छन् । मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल (उप्रेतीं), एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, र अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई आकांक्षी देखिएका हुन् ।
त्यस्तै, उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी (ढकाल), नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी न्यौपाने, एमाले जिल्ला सदस्यहरु सविता दाहाल, कल्पना ओली (सिटौला), टिकाराम मंग्राती, कृष्ण कनाल र एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल आकांक्षी देखिएका छन् ।
नेपाली काँग्रेसबाट मेचीनगरमा मेयर र उपमेयर पदको आकांक्षी :
नेपाली काँग्रेसका वर्तमान झापा जिल्ला उपसभापति केशवराज पाण्डेको मेचीनगरको मेयरमा उम्मेदवारी दिने चर्चा चलेको छ। नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, पूर्व क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती पनि टिकटको दौडमा छन्।
नेपाली काँग्रेसका महिला नेतृहरु राधा कार्की, विना तामाङको नाम भने उपप्रमुखको टिकटको दौडमा रहेको बुझिएको छ। जनताको चहानाअनुसार आफूहरुले पालिका उप–प्रमुखमा उम्मेदवारी दिन लागेको बताउँदै आएका छन्।
यता वर्तमान नगरप्रमुख विमल आचार्यले भने यसपटक मेयरमा पुनः नउठने देखिएको छ। पार्टीले दिएको जिम्मेवारी स्विकार्ने बताउदै आएका उनले प्रदेशसभा सदस्यमा इच्छा व्यक्त गरे जस्तो देखिन्छ।

