राजनीति

कार्यकारी प्रमुख हावी हुँदा विकासे योजना प्रभावित

झापा, अषाढ ६ । मेचीनगर नगरपालिकामा कार्यकारी प्रमुख हावी भएका कारण नेकपाले उठाएका जन सरोकारका विकासे आयोजना शत प्रतिशत कार्यान्वयन गर्न कठिनाई भएको नेकपा मेचीनगरको संसदीय दलले आरोप लगाएको छ ।
नगरमा नेकपाको बहुमत भएपनि नेकपाबाट प्रमुखको नेतृत्व नभएका कारण चुनावी दौरानमा नगरको विकासका सन्दर्भमा पार्टीले अघि सारेका जनपक्षीय मुद्धा कार्यान्वयन गर्न नसकिएको उक्त दलले शुक्रबार काँकरभिट्टामा पत्रकार भेटघाट गरी असन्तुष्टि जनाएको हो ।
बोर्डर पोइन्ट रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा दलका उपनेता टीकाराम मंग्रान्तीले नेकपाको छलफलबाट नगरमा विकासका प्रभावकारी योजना ल्याइए पनि नगरले अपेक्षाकृत गति लिन नसक्दा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको बताए ।
‘नगरको नीति, कार्यक्रम तथा बजेट नेकपाको दृष्टिकोणमा ल्याइयो, नगर नेतृत्वको आवश्यक क्षमता र दक्षताको अभावका कारण पूरा हुन सकेन’ उनले भने–‘चालु आर्थिक वर्षको अन्त्यमा संस्थागत रुपमा सफल देखिएन, युवा, विद्यार्थी र खेलकूदका क्षेत्रमा प्राप्त प्रतिफल नेकपाको उपज हो ।’
नगरपालिका जनमैत्री बन्न नसकेको स्वीकार गदै दलका उपनेता मंग्रान्तीले भने–‘त्यो यथार्थ हो, प्रक्रियामा कमि कमजोरी भएकै हो, नेकपाले खबरदारी गरिरहेकै छ, जनमैत्री बनाउन पहलकदमी गर्छौं ।’
कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष माधवलाल अर्यालले चालु आर्थिक वर्षमा नगरमा भएका विकास निर्माणका योजनामा नगरवासी सन्तुष्ट नभएको स्वीकार्दै भने–‘काम कार्वाहीमा केही समस्या आएकै हुन्, जनता सन्तुष्ट भएमात्र नेकपा सन्तुष्ट हुन्छ, आगामी आर्थिक वर्षमा जन अपेक्षा कार्यान्वयन हुने गरी काम गर्छौं ।’
उनले नगरका विकास निर्माण सम्बन्धि गौरवका योजना कम्युनिष्टले मात्र सोच्ने कुरा हो भन्दै जनअपेक्षा अनुसारका योजना आगामी आर्थिक वर्षबाट कार्यान्वयनको चरणमा रहेका बताए । ‘योजना कार्यान्वयन गर्न दुई तिहाईको मात्र केही लाग्दैन, दुई तिहाई प्राविधिक कुरा हो, उनले भने–‘तर, मुख्य कार्यकारी पदले बेवास्ता गर्दा समस्या आएको हो, यसलाई कसरी सच्चाउन सकिन्छ, त्यो हामी सोच्दै छौं ।’
चालु वर्षमा नगरको विकास निर्माण सम्बन्धि योजनामध्ये ६० प्रतिशत पूरा भएको दावी गर्दै उनले थपे–‘कतिपय योजनाका डिपिआर सम्पन्न भए, कतै हुँदैछन्, केही ठाउँमा प्रारम्भ भएका छन्, अध्यक्ष अर्यालले भने–‘नियमित कार्यक्रम ९५ प्रतिशत पूरा, केही बाँकी छन्, यो आ।व।मा शत प्रतिशत योजना सम्पन्न भएनन् ।’
त्यसक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारीले जनसरोकारका विकासे योजना शत प्रतिशत कार्यान्वयन हुन नसक्नु दुखद भन्दै भने–‘अपूरा योजना कार्यान्वयन गर्न हामी प्रयत्नशील छौं, बहुवर्षिय योजना अघि बढाउन लागी पर्छौं ।’
कार्यक्रममा नेकपा जिल्ला सदस्य डिल्लीराम घिमिरे, जिल्ला सदस्य तथा नगर इञ्चार्ज, देवकुमार राई, नगर कार्यपालिका सदस्य नीरु परियार, नगर न्यायिक समिति सदस्य छोटबहादूर राईलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.