स्वास्थ्य

पवन वेकरी उद्योगलाई १० हजार रुपैयाँसहित उपस्थित हुन निर्देशन

एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) टोलीले नियन्त्रणमा लिईयो

मेचीनगर । जिल्ला स्तरीय झापा र नगर स्तरीय मेचीनगरको संयुक्त अनुगमन टोलीले झापाको मेचीनगर—७ स्थित इटाभट्टामा रहेको पवन वेकरी उद्योगलाई सातदिनभित्र नगद १० हजार रुपैयाँसहित आन्तरिक राजस्व भद्रपुरमा उपस्थित हुन् पत्रचार गरेको छ ।

No description available.

यसैगरी, मेचीनगरपालिकाले एकसाताभित्रमा व्यवसायी कर नविकरण गर्न र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले एकहप्ताभित्रमा कार्यालयमा उपस्थित हुन् उद्योग सञ्चालकलाई पत्रचार गरेको छ । संयुक्तरुपमा जिल्ला तथा नगरस्तरीय अनुगमन टोलीले विहीबार अनुगमन गर्दा उद्योगमा विभिन्न कमजोरी देखिएका कारण उद्योग सञ्चालकलाई जरिवानासहित सम्बन्धित कार्यालयमा हाजिर हुन् पत्र दिइएको बताइएको छ ।

No description available.

पवन वेकरी उद्योगका नाममा दर्ता रहेको त्यो उद्योगले पवन वेकरी उद्योग प्रालिका नाममा बील बिजक जारी गरेको अनुगमन टोलीले फेला पारेपछि कारवाही स्वरुप जरीवाना गराएको र एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) समेत टोलीले जफत गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

चाडपर्वको बहनामा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले त्यसबाट उपभोक्तालाई जोगाउन दुवै समितिले बुधबारबाट नगरका मुख्यः मुख्यः बजारको अनुगमन शुरु गरेको मेचीनगर उपप्रमुखको सचिवालयले जनाएको छ । व्यवसायीले चाडपर्वको बहनामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बृद्घि गर्न सक्ने उपभोक्ताको गुनासो सुनिन् थालेपछि अनुगमनलाई तीब्र पारिएको अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । उपप्रमुख उप्रेतीले हरेक व्वयसायीले आफ्नो होटल पसलको सरसफाईमा धयान दिन, व्यवसायलगायत अन्य प्रमाण पत्र समयमै नविकरण गरी सवैले देख्ने स्थानमा राख्न, हरेक दिनको मूल्य सूची प्रष्ट देख्ने गरी राख्न व्यवसायीलाई सुझाव दिनुभएको ।

अनुगमन टोलीले नगरकै पाचतारे होटल मेची क्राउनको समेत अनुगमन गरेको टोलीमा संलग्न मेचीनगरका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले होटलको ‘किचन’, आवश्यक प्रमाण पत्र मासुलगायत अन्य खाद्य वस्तुको अनुगमन गरेको बताउनुभयो । होटलले मासु व्यवस्थितरुपमा डि—फ्रिजमा राखेको, आवश्यक प्रमाण पत्र चुस्तदुरुस्त राखेको भए पनि किचनमा केही सुधार गर्नुपर्ने देखिएको कार्कीले बताउनुभयो ।

No description available.

होटल व्यवस्थापनपक्षले अनुगमनलाई सकरात्मकरुपमा लिइएको र सुधार्ने कुरामा तत्कालै लागि हाल्ने प्रतिवद्घता व्यक्त गरेको छ । आगामी दिनमा यस्ता कुरामा ध्यान जाने बताइएको छ ।

मेचीनगर—१० धुलावारीमोडमा रहेको कृष्ण सजिलो किनमेलबाट उपभोग्य मिति सकिएका खाद्यवस्तु जफत गरी त्यही नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुले मानिसको शरीरमा नकरात्मक असर पार्ने भएकाले तत्कालै जफत गरी नष्ट गरिएको बताउनुभयो ।

अजय पापड उद्योग भागलपुरबाट उत्पादन भएको लेवल नभएको सात थान जय भवानी छाप पापड र विकानो क्रोनफ्लाक्स मिक्चर खाद्य वस्तु चारथान जफत गरी सवैको रोहवरमा नष्ट गरिएको अनुसन्धान अधिकृत पुरीले बताउनुभयो । पहिलो पटक खनुगमनका क्रममा दिइएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने बताइएको छ । टोलीले दुईवटा वेकरी, एउटा होटल तथा एउटा डिपार्टमेन्ट स्टोरगरी चारवटा पसल अनुगमन गरेको कार्कीको भनाई छ ।

अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेती,जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपाने, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, आन्तरिक राजस्व कार्यालय भद्रपुरका छत्रबहादुर लिम्बु, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रेमप्रसाद सापकोटा, विनोद न्यौपाने, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय भद्रपुरका विजयनन्दन चौधरी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, सचिव रविचन्द्र नेपाल, कार्यकारी निर्देशक गोपाल वस्नेत, मेचीनगर नगरपालिकाका नगर प्रहरीसहितको टोलीले बजारको अनुगमन गरेको हो ।