मेचीनगर । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

झापा क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद गोपाल तामाङले आज मेचीनगर १० स्थित धुलाबारीमा आयोजित एक कार्यक्रम मार्फत बैंक शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको शाखा कार्यालय उद्घाटनको अवसरमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश सांसद तामाङले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर उत्तरदायी ढङ्गले काम गर्दै आएको बताए । उनले धुलाबारी सहित देशभर शाखा बिस्तार गर्दै सेवा प्रदान गरेको राष्ट्रिय बाणिज्य बैंकले अब देशको अर्थतन्त्र विकासका लागि थप उपयोगी कदम चाल्दै जानुपर्नेमा जोड दिए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको औचित्य प्रकाश पार्दै स्वागत गरे । श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक देशका ७७ वटै जिल्लामा स्थापना भइसकेको र देशमै ‘क’ वर्गका २७ बैंक मध्ये पहिलो र उत्कृष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक भएको दावी गरे । आघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब बढी नाफा कमाउन सफल भएको र देशभर ३५ लाख बढी सदस्य रहेको बैंकले जनाएको छ । आगामी एक वर्ष भित्र ३ सय शाखा पुर्याउने लक्ष्यका साथ शाखा विस्तारलाई तीब्रता दिँदै आएको श्रेष्ठको भनाइ छ ।
वरिष्ठ कार्यकारी अधिकृत श्रेष्ठले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको अन्त्य गर्दै निजी क्षेत्रका बैंकभन्दा भरपर्दाे सेवा दिने तयारी रहेको बताए । वाणिज्य बैंकमा आर्थिक तरलता नभएको र यस क्षेत्रका उद्योगी व्यवसायीका लागि भरपर्दाे श्रोत वाणिज्य बैंक भएको दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाकी जिल्ला सदस्य सुनिता शर्मा, मेची उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, मेचीनगर नगर शिक्षा अधिकृत होम भण्डारी लगायतले शुभकामना दिँदै वाणिज्य बैंकको सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

बैंकका प्रबन्धक मनिराज तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयका म्यानेजर जितेन्द्रसिंह थापाले गरेका थिए ।

