धुलावारी, माघ १७ । यहि माघ २१ गते हुने मेची उध्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा सहित मनोनयन दर्ता गरिएको छ ।
सोमवार नेपाली कांग्रेसको क्षेत्रीय पाटी कार्यालयमा भेला भइ मेची उध्योग वाणिज्य संघमा पुगेर उम्मेदवारी दर्ता गरिएको हो । नेपाली कांग्रेस समर्थित व्यवसायहीहरुको एकल प्यानलमा व्यवसायी मोहन निरौलाको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो ।

अध्यक्षका प्रत्यासी निरौला वर्तमान समितिको बरिष्ठ उपाध्यक्षमा रहेर भूमिका निर्वाह गरिसकेका अनुभवी व्यवसायी हुन् । उनले यस अघि विजय डालमियको नेतृत्वमा सदस्य पदमा रहेर काम गरिसकेका छन् । मेची भन्सार एजेण्ट संघका अध्यक्ष समेत रहेका निरौलाले विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गरिसकेका छन् ।

आगामी ३ वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री, उध्योग उपाध्यक्षमा भूमि पौडेल, वाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहन र महासचिवमा उदयकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ । यसैगरी महिला सदस्यहरुमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ, खुल्ला सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साइ, राजेशकुमार वंशल, बिनोद बानियाँ, बिनोदकुमार बुढाथोकी(बिष्णु) र बर्मलाल ओझाले उम्मेदवारी दिएका छन् ।

लामो समय कांग्रेसको एकक्षत्र रहेको बाणिज्य संघको २७ वर्षको अवधीमा २१ वर्ष कांग्रेसले नेतृत्व गरेको यस संस्थामा यस अघि एमालेका ऋषीराज तिम्सिनाले नेतृत्व गरेका थिए । २१ गते हुने निर्वाचनमा नेकपा एमाले नेतृत्वको प्यानल र नेपाली कांग्रेस प्यानलबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

