मेचीनगर । झापाको मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्कले पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा काँचुली फेर्न थालेको छ । करिब एक दशकअघिसम्म लागूऔषध प्रयोगकर्ता र फोहोर फ्याँक्ने अखडा बन्ने गरेको पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित देवकोटा पार्क समयक्रम र बद्लिँदो परिवेशसँगै पर्यटकीय गन्तव्यका रुपमा विकशित हुँदै गएको हो ।
नेपाल र भारत छुट्याउने सीमा नाका, साहित्य नगरी, होटलको शहरजस्ता अनेकन परिचयले चिनिदै आएको काँकरभिट्टा शहरको परिचय पछिल्लोसमय देवकोटा पार्कले पर्यटकीय नगरीको रुपमा पनि फेरिदैं गएको हो । नेपाल र भारतका मात्र नभई यस नाकाबाट आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने पर्यटकीय वातावरण निर्माणसँगै काँकरभिट्टा आकर्षक पर्यटकिय गन्तव्य बन्न पुगेको छ ।
नेपाली साहित्य जगतका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्माण गरिएको देवकोटा पार्क परिसरको मुहार फेरिएसँगै पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा रुचाउन थालिएको छ । आफ्ना बालबालिका देवकोटा पार्कमा नै रमाउन थालेपछि घुमाउन कै लागि अन्यत्र टाढा टाढा धाएर लैजानु पर्ने बाध्यत हटेको स्थानीय बताउँछन् ।
लागुऔषध प्रयोगकर्ता र फोहोर फ्याँक्ने अखडा बनेको देवकोटा पार्क संरक्षणको अभावमा सुन्दर काँकरभिट्टा निर्माणका लागि चुनौतिका रुपमा उभिएको थियो । चौपायाको चरन क्षेत्र बन्नु, सरसफाई नहुँदा र आवश्यक मर्मत तथा सम्भार हुन नसक्दा कुरुप बन्न पुगेको थियो । तर, यो पार्क परिसरलाई व्यवस्थित गरी नमूना पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भनेर आफुहरु लागि परेको पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरे बताउँछन् । उनका अनुसार –‘पार्कलाई सुन्दर बनाउने अभियानमा सिँगो समिति तल्लिन छ, ।
समितिको सक्रियतासँगै करिब १३ कठ्ठा क्षेत्रफलमा फैलिएको देवकोटा पार्कको मुहारमा आमुल परिवर्तन भएको छ । पार्कलाई सुन्दर र हराभरा बनाउने अभियानमा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेल, स्थानीय समाजसेवी बालकृष्ण थापालगायतको अह्म भूमिका रहदै आएको छ ।
पार्क क्षेत्रमा निर्मित देवकोटाको पूर्णकदको प्रतिमा, सुन्दर बरबगैंचा, बालबालिकाका लागि विभिन्न खेल सामाग्री र उद्यानले आन्तरिक पर्यटकको घुईंचो दिनानुदिन बढ्न थालेको छ । यसलाई अझ व्यवस्थित बनाउँदै लैजाने हो भने, यसैलाई राम्रो आम्दानीको स्रोत बनाउँन सकिन्छ । त्यसका लागि तीनै तहको सरकारको साथ र सहयोग आवश्यक देखिन्छ ।

