खेलकुद

छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा  संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ।

झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।

टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा एपिएफकाे तर्फबाट दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारले गोल गर्दा अजित लामा र मौसम सुब्बाको प्रहार गोल हुनबाट चुक्यो ।

खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए ।

आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।

सभामुख देवराज घिमिरेले उद्घाटन गरेको गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । 

यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय झापाली समाज  सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुने आयोजना झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मोफसलको सर्भाधिक चर्चित फुटबल प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ हात पार्ने छ भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछ ।