काठमाण्डौ, भाद्र ३० । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने भएको छ । आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्दै हिँड्ने शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धानको लागि म्याद थप गर्ने भएको छ ।
शाहीले आइतबार अपराह्न ललितपुरको पुल्चोकमा ’नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछि सुरक्षा दिन गएको प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनमाई ‘अभद्र व्यवहार’ मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको थियो ।
’सुरक्षा दिन पुगेको हाम्रो प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको आरोप लागेका शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनमा शाहीमाथि युट्युबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युट्युबर र शाही समर्थकबीच हात हालाहाल भएको थियो । स्थिति अनियन्त्रित भएपछि प्रहरीले हस्तक्षेप गर्दै शाहीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएको थियो । सोही क्रममा शाहीले प्रहरीमाथि हातपात गरेको प्रहरीको दाबी छ ।
उच्च स्रोतका अनुसार पक्राउ परेका शाहीले ’गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९ (क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने प्रहरीले तयारी गरेको छ । उक्त मुद्दामा १० देखि २० वर्षसम्म कैद र आरोपीको सम्पूर्ण सम्पत्ति जफत हुने कानूनी व्यवस्था छ ।
उड्न लागेको विमानमा हुलहुज्जत गर्दै विमानको उडान सुरक्षामा खलल पुर्याएको आरोपमा शाहीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं वा जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ताको तयारी गरिएको बुझिएको छ ।

