झापा, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसर पारेर असोज ३ गते बिर्तामोडमा बृह्त जनसभा गर्ने भएको छ । जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्य तालिका रहेको नेकपा जिल्ला कमिटीले जनाएको छ ।
जनसभा कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का पार्टी इन्चार्ज भिम आचार्य, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य राम कार्की लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । साथै अध्यक्ष पाठकले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आह्वान गरेका समेत गरेका छन् ।
‘नेकपाले जिल्लाभरबाट हजारौंको संख्यामा जनसहभागिता गराउँदै भब्य रुपमा जनसभाको आयोजना गर्न लागेको जनाएको छ । सोही दिन झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि स्थानीय पार्टीलाई निर्देशन दिइएको छ । कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने, ११ः३० बजेबाट रयली शुरु गरेर कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ ।

