खेलकुद

बेलबारीलाई पराजित गर्दै सिक्किम सेमीफाइनलमा प्रवेश

झापा, कात्तिक १८ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सोमबार भएको पहिलो क्वाटरफाईनल खेलमा सिक्किम आक्रमण एफसीले बेलबारी एफसीलाई पराजित गरेको छ । यो जित संगै सिक्किमले अन्तिम चारको यात्रा तय गरेको छ ।

विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालित प्रतियोगितामा पाहुना टोली सिक्किमले प्रदेश लिगको रनरअप टिम बेलबारीलाई ३–२ को जित दर्ता ग¥यो । सिक्किमका लागि रोहन राईले दुई तथा करण राईले एक गोल गरे । बेलबारीको तर्फबाट किरण लिम्बू र भुषण लिम्बूले एक एक गोल गरे।

युवा खेलाडीले भरिएको बेलबारी एफसीको छरितो खेलमा सुरुवातको एक मिनेटमै गोल गरेर अग्रता लिएको थियो । तर पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै नतिजा आफ्नो पोल्टामा हाल्न सफल भयो ।

खेलको म्यान अफ दी म्याच सिक्किमका दुई गोलकर्ता रोहन राई घोषित भए । उनले नगद १० हजार पाए ।

गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मंगलबार एपीएफ काठमाण्डौं र नेपाल पुलिस क्लब काठमाण्डौं दोस्रो क्वाटरफाइनल खेलमा भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

Leave a Reply

Your email address will not be published.