खेलकुद

अन्नपूर्ण हाम्रो गोल्डकप तत्कालका लागि स्थगित, कात्तिक पहिलो सातादेखि हुने

झापा, असोज ९ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिजय दशमीको अवसर पारेर यहि असोज ११ गतेदेखि हुने भनिएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप स्थगन भएको छ ।

आयोजक जायोन स्पोर्टस् क्लबले बिहिबार डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गर्दै गोल्डकप स्थगन गरेको जानकारी दिएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी सकिए पनि खराब मौसमको कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए । साथै उनले अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरिसकेको पनि बताए ।


डोमालाल राजवंशी रंगशाला

निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताए । साथै उनले प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको बताए ।

तिहारको छेको पारेर खेल सञ्चालन गर्दा पनि दर्शकले भरपुर साथ दिने विश्वासका साथ आयोजकले कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको जनाएको छ । प्रतियोगिताको फाइनल खेल काग तिहारको दिन पर्नेछ ।

आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्री स्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीमलाई प्रतियोगितामा सहभागी गराउने तयारी भईरहेको बताए ।

त्यसै गरी प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, झापा ११, गोर्खा ब्वाइज रुपन्देही र विदेशी टिम सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लबे सहभागी हुने टुङ्गो लागि सकेको छ ।

झापा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग रहने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको छ । गोल्डकपका लागि चर्चित राष्ट्रिय पूर्व फुटबलर तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्का ब्राण्ड एम्बासेडरका रुपमा रहेका छन् ।

गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजक क्लबका आर्थिक संयोजक दिपेन्द्र आछामीले जानकारी दिए ।

उनका अनुसार विधागत तर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही १५/१५ हजार पाउने उनले जानकारी दिए । म्यान अफ दी टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published.