जनकपुर, असोज ९ । चोरी गर्ने तयारीमा रहेको गिरोहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालय नजिकै रहेको जानकी फर्निसिङ पसलमा चोरी गर्न खोज्दाखोज्दै प्रहरीले तीन राउण्ड गोलीहानेर उनीहरुलाई नियन्त्रणमा लिएको हो
बिहान करिब साढे ३ बजे गस्तीमा रहेको प्रहरी टोलीले सटरको ताला फोड्दै गरेको अवस्थामा दूई भारतीय सहित ४ जना लुटेरालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका ४० वर्षिय मोहम्मद इलियस, भारतकै ३९ वर्षिय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिकाका ३५ वर्षिय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षिय विनोदप्रसाद सिंह पक्राउ छन् ।
ताला फोड्ने क्रममा प्रहरीलाई देखेपछि भाग्न खोजेका लुटेरालाई तीन राउण्ड गोली हानेर पक्रिएको धनुषाका एसपी शेखर खनालले बताए । गोली लागेर घाइते भएका विनोदको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट हतियार समेत बरामद गरेको जनाएको छ । उनीहरुबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

