काठमाण्डौं, असोज ९ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजी २–० गोल अन्तरले रिम्ससँग पराजित भएको हो ।
प्रतियोगिता अवधिभर एकतर्फी हावी भएको पीएसजीले गोल गर्न भने सकेनन् । पीएसजीको पटक पटकको आक्रमणमा रिम्सका किपर बाधक बने । जसको कारण पीएसजी पराजित हुदै अंक गुमाउन पुग्यो ।
रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे । घरेलु टिमविरुद्ध खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २–० को जित दिलाए ।
योसँगै पीएसजी १६ महिनापछि घरेलु मैदानमा पराजित भएको छ । पीएसजी पछिल्लो पटक घरेलु मैदानमा सन् २०१८ को मे मा पराजित भएको थियो ।
हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

