खेलकुद

सडनडेथमा एपीएफलाई पराजित गर्दै पुलिस सेमीफाइनलमा प्रवेश

झापा, कात्तिक १९ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लब काठमाण्डौंलाई सडन डेथमा पराजित गरेको छ । यो जित संगै पुलिसले अन्तिम चारको यात्रा तय गरेको छ ।

विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित प्रतियोगितामा नेपाल पुलिस क्लब काठमाण्डौंले एपीएफ क्लब काठमाण्डौंलाई संघर्षपूर्ण रुपमा सडन डेथमा जित दर्ता ग¥यो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो । त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए ।

खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा पुराएको थियो । प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३०औँ मिनेटमा पाएको फ्रिकिकमा उनले गोल गरेका हुन् । एपीएफका नविन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड टचमा हरि कार्कीले पनि हेड गोल गरेका हुन् ।

खेलको ९ मिनेटमै पुलिसका निरकुमार राईले पाएको अवसर खेर गएको थियो । उनले प्रहार गरेको बल एपीएफको बारमा लाग्दै भित्रिएपछि पुलिसका समर्थक निराश बनेका थिए । यस्तै, पाएका थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा पुलिस १–० ले पछि परेको थियो ।

दोस्रो हाफको ३०औँ मिनेटमा पुलिसका भोला सिलवालले गोल गरेर खेललाई बराबरीमा पुराए । सन्तोष हेमरमको पासलाई एपीएफका दुई डिफेन्डरलाई काटेर भोलाले गोल गरेका हुन् । नियमित खेलाडी निरकुमार राईलाई खेलको ४६औँ मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए ।

खेलको म्यान अफ दी म्याच पुलिसका भोला सिलवाल घोषित भए । उनले नगद १० हजार पाए ।

गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । बुधबार त्रिभुवन आर्मी क्लब काठमाण्डौं र मोवले आसाम (भारत) बिच तेस्रो क्वाटरफाइनल खेलमा भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

Leave a Reply

Your email address will not be published.