काठमाडौं, बैशाख ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ८४ हजार २१७ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २५ लाख ५६ हजार ५१२ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ६०७ जनाको मृत्यु भएको छ । ७९ हजार ९५९ नयाँ संक्रमित थपिएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरीकामा पछिल्लो २४ घण्टामा २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।
अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो ।
अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ ।
त्यहाँ २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन् ।
उपचार भइरहेका १ लाख ७५७ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

