राजनीति

नेकपाको सचिवालय बैठक आज, शीर्ष नेताहरु बैठकमा जुट्दै

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानका लागि आज दिउँसो तीन बजे सचिवालयमा छलफल हुन लागेको हो ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो ।

तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठक गनेै टुंगोमा पुगेका थिए । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

गत शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.