काठमाण्डौं \ प्रधानमन्त्री केपी शर्मा अोलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत असाधारण सोचको क्षमता भएको व्यक्ति भएको बताएका छन् ।
शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सिके राउतमा असाधारण क्षमता रहेको आफूले पाएको बताए । उनले राउतको पृथक धारको राजनीति गर्दै आएपनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए ।
‘उहाँ एउटा इञ्जिनियर, कता–कता बाटो बिराएकोमा आफुलाई पनि डर लागेको थियो । तर, आज सही निर्णय गर्नुभयो । उहाँ ‘टेक्नोक्र्याटमात्रै होइन टिचर’ पनि हो,’ सम्बोधनका क्रममा ओलीले भने ।
प्रधानमन्त्री ओलीले माओवादीले हिंसा छोडेर शान्तिपुर्ण राजनीतिमा आएको उदाहरण दिँदै अब सम्पूर्ण रुपले हिंशा समाप्त भएको दावी गरे ।
उनले संविधानले जनतामा सार्वभौमसत्ता सुनिश्चित गरेको भन्दै समानुपातिक र समावेशीता अपनाएको संसदीय प्रणालीमार्फत समान अधिकार, अवसर, अधिकार र हकदार भएको बताए ।

