खेलकुद

पुलिस क्लब माई भ्याली गोल्डकपका सेमिफाइनलमा प्रवेश

इलाम / नेपाल पुलिस क्लब काठमाण्डौ इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा पाहुना टिम युनाइटेड क्लब दार्जीलिङसँग २–१ को जित निकाल्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको छैटौँ मिनेटमा नै सौजन्य याक्खा राईको गोलले पुलिसले अग्रता बनाएको थियो । दार्जीलिङका गोलरक्षक विनोद क्षत्रीले पुलिसका खेलाडीलाई फाउल गरेपछि पाएको अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा पुलिस क्लबका भरत शाहले गोल गरी अग्रता दोब्बर बनाए । उता दार्जीलिङले भने ८६ औँ मिनेटमा सान्त्वना गोल फर्काउन सफल भएको थियो । दार्जीलिङका करन राईले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ् द म्याच विजेता नेपाल पुलिस क्लबका सौजन्य याक्खा राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहेको माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.