
नेपालगञ्ज/ लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको छ ।
नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ । अब विशिष्ट पाहुना बस्ने प्यारापिट तयारीका सामान पनि आज (सोमबार) नेपालगञ्ज आइपुग्ने भएको छ । तयारीका लागि आवश्यक सबै कार्यहरु अन्तिम चरणमा पुगेको छ । त्यसैले चैत २१ देखि २५ गतेभित्र औपचारिक शुभारम्भ हुने आठौँ राष्ट्रिय खेलकूदका प्रचार प्रसार समितिले हाम्रो खबरपाटी लाई जानकारी दिए ।
आज नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलमा यही चैत १० गतेसम्म राष्ट्रिय खेलकूद परिषद्को बैठक बसी मिति तोकिने प्रचार प्रसार समितिले बताए ।
राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने तयारी भईरहेको छ । बाँके, बर्दिया, दाङलगायतका ठाउँमा राष्ट्रिय खेल हुनेभए पनि उद्घाटन र समापनसहित अधिकांश खेल नेपालगञ्जमा हुनेछन् ।
नेपालगञ्जमा मात्रै आठौँ राष्ट्रिय खेलको तयारीका क्रममा रु डेढ अर्बभन्दा बढी लगानी भएको छ ।

