खेलकुद

मेचीनगर वडा स्तरीय फुटबलको उपाधी वडा नम्बर ६ लाई

झापा, चैत २० । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको फाईनल खेलमा वडा नम्बर ६ बिजयी भएको छ ।

नव ज्योति निमाविको खेल मैदानमा आज भएको रोमाञ्चक फाईनल खेलमा वडा नम्बर १ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ । जितसँगै वडा नम्बर ६ ले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर १ ले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्रमा नै चित्त बुझाउन बाध्य भयो । खेलको म्यान अफ द म्याच वडा नम्बर ६ का मुकुल मगर भए ।

जारी प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा आयोजक वडा नम्बर ३ का रोमन मेचे तथा उदयमान खेलाडी वडा नम्बर ३ कै सेवन्त थापा घोषित भए । उनिहरु साथै बिजेता र उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपाने, क्लबका संस्थापक जीतबहादुर लावती, क्लबका अध्यक्ष भवानी गिरी, पूर्व अध्यक्ष राजकुमार राया, सदस्य राजेश बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।

क्लबका सचिव सुमन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनराज भण्डारीले गरेका थिए । चैत ९ गतेबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटै वडाले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.