समाचार

दोहोरो झडपमा आठ प्रहरीसहित १५ को मृत्यु

एजेन्सी, चैत २८ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकु र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठजना प्रहरी र सातजना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाद्र्रा जिल्लाको सदरमुकामनजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताए ।

यस झडपमा कम्तीमा दश सुुरक्षाकर्मी र ६ जना विद्रोही घाइते भएका छन् । चाद्र्रा जिल्लाको ठूलो भागमा कब्जा गरेर बसेका तालिवान लडाकु समूहले भने यस झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

सन् २०१४ को अन्त्यमा नेटोले अफगान युद्धमा प्रत्यक्ष सहभागी नहुने घोषणा गरेलगत्तै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबलको हातमा आएको थियो ।

अफगान सुरक्षा अधिकारीहरूले सन् २०१५ को जनवरी १ बाट सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो काँधको लिएपछि सो समयदेखि हालसम्म अफगान सुरक्षा अधिकारीको हताहतको संख्या बढेको छ ।

गृहयुद्धमा रहेको अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट समूहहरूले सुरक्षा र सरकार समर्थक अधिकारी लक्षित बारम्बार आक्रमण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.