काठमाण्डौं, चैत्र ३० । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित भएपछि नागरिकताको समस्या सदाका लागि अन्त्य हुने बताएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरमा आजदेखि शुरु भएको माँ बौकीदेवी मेला महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “नागरिकताको समस्या समाधान गर्ने गरी तयार गरिएको विधेयक संसद्मा टेबुल भइसकेको छ, त्यो पारित भएसँगै नागरिकताको समस्या सधैँका लागि समाधान हुन्छ, तपार्इंहरु ढुक्क हुनुस् ।” ‘हाम्रो सीतापुर सांस्कृतिक तथा धार्मिकसहितको समृद्ध सीतापुर’’ मुख्य नाराका साथ आजदेखि शुरु भएको महोत्सव आगामी वैशाख ५ गतेसम्म चल्नेछ ।
विगतमा नागरिकताको सवालमा राजनीति हुँदै आए पनि अब नागरिकताको विषय राजनीति बन्न नदिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बाँस्कोटाको कथन थियो । नागरिकताका विषयमा नेपालभन्दा नरम दक्षिण एशियाको कुनै पनि देश नरहेको जिकरि गर्दै उनले भने, “छिमेकी देश भारतमा विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाइन्छ, पाकिस्तानमा २ वर्षमा, बङ्गलादेशमा एक वर्षमा र माल्दिभ्समा नागरिकता पाउन १५ वर्ष लाग्छ, त्यसमा पनि मुस्लिम धर्म स्वीकार्नैपर्छ तर नेपालमा विवाह गरेको भोलिपल्टै अङ्गीकृत नागरिकता पाइन्छ ।”

