खेलकुद

थ्री स्टारलाई पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

युवराज आचार्य
झापा, बैशाख १९ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत बिहिबार भएको अन्तिम सेमीफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौं विजयी भएको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको
प्रतियोगिता अन्तर्गत बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले रुस्लान थ्रीस्टार क्लब काठमाण्डौंलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । यो जित संगै आर्मीले नगद ५ लाख १ हजार सुरक्षीत गर्न सफल भएको छ । अब त्रिभुवन आर्मी क्लबले उपाधिका लागि शनिबार फाईनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौं संगको भेट पक्का गरेको छ ।

आर्मीको तर्फ बाट खेलको २८औँ मिनेटमा कप्तान नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले ४०औँ मिनेटमा ब्यक्तिगत दुई गोल गर्दै टिमको अग्रता दोब्बर बनाउन सफल भए । तर, पहिलो हाफको अतिरिक्त समयमा थ्री स्टारका विदेशी खेलाडी म्याक्सवेलले गोल गरे । खेलको ५४औँ मिनेटमा म्याक्सवेलले थ्री स्टारका लागि दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको ६३औँ मिनेटमा दीपकुमार लामाले आर्मीका जितका लागि निर्णायक गोल गर्दै फाइनलमा स्थान सुरक्षित बनाए । गोल्डकपको चौथो सिजन चल्दै गर्दा तीन पटक त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले बिगतका दुई सिजनको उपाधि रक्षा गरिसकेको छ । यता थ्री स्टारको फाइनल पुग्ने सपना अधुरै रहयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने त्रिभुवन आर्मीका नययुग श्रेष्ठ म्यान अफ दी म्याच घोषीत भए । उनलाई नगद ११ हजार रुपैयाँ झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (माम) ले प्रदान गरेका थिए ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् । शनिबार हुने फाईनल खेल नेपाल पुलिस क्लब काठमाण्डौं र विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बीच दिनको ३ः३० बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published.