
युवराज आचार्य
झापा, बैशाख २१। जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत शनिबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो । विजेता बनेको पुलिसले १० नगद १० लाख एक हजार रुपैयाँसहित ट्रफि प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले पाँच लाख एक हजार रुपैयाँमा चित बुझायो ।

निर्धारित ९० मिनेटभर दुबै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दुबै टीमबाट ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । सडन डेथमा त्रिभुवन आर्मी क्लबका बिकास तामाङको प्रहार आकाशिएको थियो भने पुलिसका मानबादुर परियारको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पोष्टमा लागेर फर्किएको बलले गोलरक्षक कुथुको शरिरमा ठोक्किएपछि पोष्टको दिशा लिएको थियो ।
परियारको निर्णायक गोलको मदतले पुलिसले उपाधि हात पारेको हो । टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथले फर्काएका थिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो भने जर्ज प्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोकेका थिए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो । खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
राइजिङ प्लेयर काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, उत्कृष्ठ गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, बेष्ट डिफेन्स पुलिसका आषिश गुरुङ, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, बेष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, बेष्ट कोच अनन्तराज थापा घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए ।

