झापा, श्रावण ३ । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताएका छन् ।

आज साउन ३ गतेदेखि ५ गतेसम्म सञ्चालित समर क्याम्पमा ब्राउन बेल्ट थर्ड क्यूदेखि ब्लाकबेल्टसम्मका १५० जना खेलाडीले भाग लिएका छन् । झापामा हाल ५० वटा डोजोमार्फत् ६ हजार हाराहारी खेलाडीले प्रशिक्षण लिइरहेको जनाइएको छ ।बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित सेमिनार उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका थिए ।

सेमिनार उद्घाटन गर्दै उपप्रमुख महतराले खेलकुदमा गरिएको लगानीले समाज परिवर्तन हुने बताइन् ।खेलकुदमा लागेका मानिस अनुशासित हुने, स्वस्थ्य बन्ने एवम् आत्मरक्षाका लागि सबल रहने भएकाले खेलकुदको क्षेत्रमा विकास गर्न सकियो भने पक्कै पनि राष्ट्र विकासमा सहयोग पुग्ने उपप्रमुख महताराको भनाई छ ।बिर्तामोड नगरपालिकाले खेलकुदमा वडास्तरीय योजना बनाएर कार्यान्वयनमा लगेको बताउँदै उपप्रमुख महतराले प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता पनि झापाले हात पारेकोमा खुशी ब्यक्त गरिन् ।कार्यक्रमका अध्यक्ष शंकर थापाले करातेमा जिल्ला, प्रदेश एवम् राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न अब्बल खेलाडी उत्पादन गर्न टेक्निकल सेमिनार महत्वपूर्ण हुने बताए ।सेमिनार सफलताको शुभकामना ब्यक्त गर्दै झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले शंकरले नियुक्ति पाउँदा खेलकुदको विकासमा धेरैले नपत्याएको तर सोझो हिसाबले काम गरेरै देखाए र सफल पनि बनेको टिप्पणी गरे । जिल्लाको खेलकुदमा कार्यकालको अन्तिम अवस्थासम्म पनि पूर्वाधार विकासमा अहिलेको कार्यकाल सफल रहेको गुरुङको बुझाई छ ।कार्यक्रममा समाजसेवी हर्कलाल गिरी, वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले सेमिनार सफलताको शुभकामना व्यक्त गरे । यस्ता सेमिनारले खेलाडीको स्तर उकास्नुका साथै नयाँ नयाँ टेक्निक चेञ्ज भइरहेको बारे अपडेट हुने खेलाडीले मौका पाउने एकेएफ रेफ्री तथा झापा जिल्ला कराते संघका सचिव कुमार उप्रेतीले जानकारी दिए । अन्तर्राष्ट्रिय करातेमा हुने प्राविधिक तथा नियमका बारेमा अपडेट हुनका लागि यस्ता सेमिनारले सघाउन पुर्याउने उनको भनाइ थियो ।

