काठमाण्डौं, श्रावण ६ । उत्तर कोरियामा आइतवार भएको आमनिर्वाचनमा देशका नेता किम जोङ–उनले लगभग शतप्रतिशत मत पाएका छन् ।
तर पर्यवेक्षकहरूका अनुसार, चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन् ।
आइतवार भएको चुनावमा ९९।९८ प्रतिशत मतदान भएको छ र यो सन् २०१५ को तुलनामा ०।०१ प्रतिशत बढी हो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले आइतवार बताएअनुसार, विदेशयात्रामा गएका मानिसले मात्र मतदान नगरेका हुन् । रोगी र वृद्ध मानिसहरूले मोबाइल मतदान केन्द्रमा भोट हालेको समाचार संस्थाले बतायो ।
उत्तर कोरियामा प्रत्येक चार वर्षमा प्रान्तीय, शहरी र काउन्टी एसेम्ब्लीका प्रतिनिधिहरूको निर्वाचनका लागि मतदान हुने गरेको छ ।
किम आफैंले चाहिँ उत्तरी हाम्गयोङ प्रान्तमा रहेको मतदान केन्द्रमा दुई उम्मेदवार जु सोङ हो र जोङ सोङ सिकको पक्षमा मतदान गरे । ती दुवैजना काउन्टी एसेम्ब्लीका लागि चुनाव लडिरहेका थिए । एजेन्सी

