समाचार

ब्राजिलको जेलमा झडप; कम्तीमा ५२ जनाको मृत्यु

काठमाण्डौँ, श्रावण १४ । ब्राजिलको एक जेलमा भएको झडपमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । कैदीबन्दीका दुई प्रतिद्वन्द्वी समूहबिच करिब पाँच घण्टा चलेको झडपमा कम्तीमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ।
पारा प्रान्तको अल्तामिरा जेलको एउटा भवनमा राखिएको कैदीले अर्को भवनमा आक्रमण गरेका थिए । मृत्यु हुने ५२ जनामध्ये १६ जनाको घाँटी काटेर हत्या गरिएको छ भने अन्यको जेलमा लगाइएको आगोले धुवाँमा निसास्सिएर ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएकोमा उनीहरूलाई मुक्त गरिएको छ । ब्राजिलका जेलमा सात लाख बन्दी रहेका छन्। सन् २०१७ मा पनि जेलमा रहेका कैदीहरूको समूहबिच झ’डप हुँदा १३० जनाको मृत्यु भएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published.