झापा, श्रावण १४ । बनम्यारो रोगबाट पीडित श्रीमतीको उपचारमा सक्दो सहयोग गरिदिन पूर्ण धिमालले सहयोगी सबैमा अपिल गरेका छन् ।
मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय श्रीमती देउकुमारी धिमालको उपचारका लागि श्रीमान् पूर्ण धिमालले यस्तो आग्रह गरेका हुन् ।
आर्थिक अवस्था कमजोर रहेको धिमाल परिवारमा अहिले देउकुमारीलाई औषधी उपचार गर्न समस्या भई रहेको छ । श्रीमान् श्रीमती मिलेर सानु ब्यवसाय गर्दै आफ्नी ७ बर्षीय छोरीलाई नकलबन्दा विलिभर्स इङ्लिस स्कुल कक्षा ३ मा पढाउदै आएकोमा श्रीमती बनम्यारो रोगबाट पीडित भए पछि संकट परेको गहभरी आशु पार्दै श्रीमान् पूर्ण धिमालले बताए । परिवारको उज्वल भबिष्य र सुखका लागि केही महिना अगाडी मात्र बैदेशिक रोजगारमा गएका धिमाल श्रीमती बिरामी भए पछि घर फर्केका हुन ।

अहिले महिनामा एक पटक हस्पिटलमा एड्मिट भएर कम्तिमा ४ पिन्ट रगत चढाउनु पर्ने, एक पटक हस्पिटल बस्दा ३० देखि ४० हजार हजार खर्च हुने र नियमित औषधीको लागि महिनामा ५६ हजार खर्च लाग्ने हुँदा मासिक कम्तिमा पनि ८० देखि ९० हजार खर्च भईरहेको धिमाल बताउछन् ।
‘पूर्णरुपमा उपचार गर्न कम्तिमा ३० देखि ३५ लाख लाग्ने डाक्टरले बताएका छन् । उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ श्रीमान पूर्णले भने अब त सबैको सहयोग बिना उपचार गर्नै ठुलो समस्या भईरहेको छ ।
सबै सहयोगी मनकारी दाताहरुलाई देउकुमारीको उपचारमा सहयोग गरी पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ ।
देउकुमारीलाई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले श्रीमान् पूर्ण धिमालको मोवाइल नम्बर ९८४२७५७९५३ मा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

