काठमाण्डौं, श्रावण १५ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाएको छ । सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्रायःद्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ । उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
जापानका रक्षामन्त्रीले कुनै प्रकारको क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको बताएका छन् । गत साता उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो । इस्ट सी पनि भनिने सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दुरी पार गरेको समाचारमा जनाइएको थियो ।
गत साता गरिएको भनिएको क्षेप्यास्त्र प्रहार उत्तर कोरियाली नेता किम जङ(अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनामा भएको भेटपछि पहिलो पटक गरिएको हो । दुई कोरियालाई छुट्ट्याउने गैरसैनिक क्षेत्रमा विनापूर्वयोजना भएको भेटमा दुवै नेता पारमाणविक निरस्त्रीकरणसम्बन्धी वार्ता पुनः गर्न सहमत भएका थिए ।
त्यो भेट प्योङ्याङले एउटा वार्षिक कार्यक्रमअन्तर्गत दक्षिण कोरिया र अमेरिकाबीच गर्ने योजना बनाइएको सैन्य अभ्यासलाई लिएर आक्रोश व्यक्त गरेपछि भएको हो । त्यो अभ्यास स्थगित गर्न दुवैले अस्वीकार गरेका छन् । अभ्यासका कारण वार्ता पुनस् गर्ने कुरा प्रभावित हुन सक्ने उत्तर कोरियाले चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जुलाईमा उक्त अभ्यास हुन सक्ने बताएका थिए । अमेरिका र उत्तर कोरियाका अधिकारीहरूबीच थप औपचारिक वार्ता भएको छैन । गत वर्ष नेता किमले उत्तर कोरियाले पारमाणविक परीक्षण रोक्ने र अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र प्रहार नगर्ने बताएका थिए । प्योङ्याङले कडा आर्थिक नाकाबन्दीका बीच पनि नयाँ हतियार विकासको क्षमता प्रदर्शन पनि निरन्तरता दिइरहेको छ । बीबीसी

