झापा, भाद्र ७ । पाथीभरा टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः रमेश नेपाली चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित भानुटोलमा सम्पन्न दोश्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा नेपाली चयन भएका हुन् । समितिको सचिवमा विवेक बिष्ट तथा कोषाध्यक्षमा शान्ता न्यौपाने चयन भएका छन् ।
संस्थाका अध्यक्ष रमेश नेपालीको सभापतित्व तथा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापति गिरीराज धमला, नेकपा मेचीनगर–८ का सचिव विष्णु भट्टराई, आदर्श टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष युवराज बस्नेत, समाजसेवी तथा युवा व्यवसायी विकास देवकोटालगायतले बोलेका थिए । कार्यक्रममा जेष्ठ नागरिक खड्गबहादुर राउत, सुमित्रा विश्वकर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी विकास देवकोटाले संस्थालाई आवश्यक पर्ने सामुदायिक भवनको लागि समेत जग्गा दान गर्ने भएका छन् । कार्यक्रमकै अवसरमा उनले सौजन्य गरेका दुई थान संस्थाको होर्डिङ बोर्ड टोल विकास संस्थाका अध्यक्ष रमेश नेपालीलाई हस्तान्तरण गरेका थिए ।
संस्थाका सदस्य बिनोद मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य किशोर उपरकोटीले गरेका थिए ।

