झापा, असोज ११ । मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले शनिबार झापाको मेचीनगर–७ स्थित सतिघट्टा चिया कमानमा कार्यरत महिला मजदुरहरुलाई कपडा वितरण गर्नुभएको छ । नगरप्रमुख आचार्यले उनीहरुको घरआँगनमै पुगेर वडा नम्बर–७ का वडाध्यक्ष चन्दन मेचेको अगुवाइमा नगर प्रमुख आचार्यले आफ्नै निजी लगानीमा महिला कामदारलाई साडी प्रदान गर्नुभएको हो ।
दशैं, तिहार तथा छठलगायतका चाडपर्व हरेकका घरआँगनमा भित्रिरहेका बखत आर्थिक अवस्था ज्यादै न्यून भएका मजदुरलाई कपडा वितरण गरेको उहाँले बताउनुभयो । साडी पाएपछि मजदुर महिलाहरुको अनुहारमा खुशी देखिन्थयो ।
दशैं, तिहारलगायतका चाडपर्वमा जस्तै नहुनेहरुले एकसरो नयाँ लगाउनै पर्ने, एक छाक भए पनि मिठो मसिनो खानैपर्ने परम्परा छ । चिया बगानमा कार्यरत महिलाहरुले चाडपर्वका बखत केही राहत होस् भनेर कपडा प्रदान गरिएको वडा नम्बर–७ का वडाध्यक्ष मेचेले जानकारी दिनुभयो ।
त्यस क्रममा चिया बगानमा कार्यरत मजदुरहरुले नगर प्रमुख आचार्य समक्ष आफूहरुलाई पिउने पानीको समस्या भएको र त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
नगरप्रमुख आचार्यले सफा, स्वच्छ पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले तत्काल खानेपानीको व्यवस्था मिलाइदने आश्वासन दिँदै सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई यसबारेमा काम शुरु गर्न निर्देशन दिनुभयो ।

