झापा, कात्तिक १७ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको आईतबार भएको खेलमा नेपाल पुलिस क्लब काठमाण्डौंले झापा ११ लाई पराजित गरेको छ । यो जित संगै पुलिसले क्वाटरफाइनल खेलको यात्रा तय गरेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालित प्रतियोगितामा पुलिसले झापा ११ लाई २–१ को जित दर्ता ग¥यो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक\एक गोल गरे । झापाको तर्फबाट कप्तान योगेश गुरुङले सान्त्वना गोल गरेका थिए ।
दर्शकको भरपुर समर्थन पाएको झापा ११ ले पुलिस सामु प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि नतिजा भने आफ्नो पकटमा पार्न सकेन ।
खेलको म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित भए । उनले नगद १० हजार पाए ।
गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । सोमबार सिक्किमको आक्रमण एफसीले बेलबारी एफसी मोरङसँग भिड्नेछ । बेलबारी प्रदेश लिगको रनरअप टिम हो ।
गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

