खेलकुद

चर्च ब्वाईज सेमिफाईनलमा

झापा,कात्तिक २१। गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा गोर्खा ब्वाईजलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज अन्तिम चारमा पुगेको हो ।

प्रतिष्पर्धात्मक भएको खेलको निर्धारित ८० मिनेटको अवधिमा १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता चर्च ब्वाइजले लिएको थियो । ६६ औँ मिनेटमा कप्तान सन्तोष न्यौपानेले टोलीलाई अग्रता दिलाएका थिए ।

तर त्यसको दुई मिनेटपछि गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले बराबरी गोल गरेका थिए । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो । गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईले गोल गरे । बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

१० वटा टिम सहभागी गोल्डकपमा शुक्रबार त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published.