खेलकुद

नेपालले आज म्यानमार संग खेल्दै

काठमाडौं, कात्तिक २१। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ ।

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४ १५ बजे सुरु हुनेछ ।

नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यस अघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।

नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमारको सामना गरेको थियो । भारतको हैदराबादमा भएको खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

तर, मैत्रीपूर्णमा घरेलु टिमलाई पराजित गर्दै नेपाल च्यालेन्ज कपको हारको बदला लिने योजनामा हुनेछ । युवा खेलाडीको साथ पाएको नेपाल फिफा वरियतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.