काठमाण्डौं, कात्तिक २१ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार (आज) मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।
मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ ।
भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ ।
२५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

