अन्य

‘लिम्बू भाषा’ कामकाजीको एकबर्ष, १ लाख दीप प्रज्वलन

इलाम, मंसिर १४ । माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको प्रथम वार्षिक उत्सव मनाइएको छ ।

वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको एक वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

१ लाख ८ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि, कर्मचारी र स्थानीयले वार्षिक उत्सव मनाएका हुन् । स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा स्थानीयबासीहरु दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको उपस्थितीमा गुरु आश्रम परिसरमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रम ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा र माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इदिङ्गोले नेपालको संविधान र स्थानीय सरकार संचलन ऐनमा भएको व्यवस्था स्थानीय भाषा, लिपि, संस्कृतिको संरक्षणमा गाउँपालिका लागिपरेको बताए । ‘लिम्बू जातिको बाहुल्यता रहेको यस वडामा लिम्बू भाषालाई कामकाजी बनाइएको छ’ अध्यक्ष इदिङ्गोले भने, ‘अब चाँडै ४ र ६ नम्बरमा राई वान्तावाहरुको बाहुल्यता रहेकाले ती वडामा समेत राई वान्तवा भाषालाई स्थानीय कामकाजी भाषा घोषणा गरिनेछ ।’ अध्यक्ष इदिङ्गोले जातीय बाहुल्यताका आधारमा स्थानीय भाषा कामकाजी बनाउने निर्णय गाउँँपालिकाको रहेको जानकारी गराउँदै सबै वडामा क्रमश स्थानीय भाषा कामकाजी बनाउँदै जनशक्तिको समेत व्यवस्थापन गर्दै लैजाने उद्घोष गरे ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बा, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा भाषा विद् हरिचन्द्र लावती, किरात चोत्लुङ अङसी माङगेन्ना समितिका अध्यक्ष केहरसंिह योङहाङ, किरात धर्म तथा साहित्य उत्थान सघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, वडा नम्बर ३ का अध्यक्ष मैतराज राई, गुरुका कानुनी सल्लाहकार एनएस फागोलगायतले मन्तव्य राखेका थिए ।

इतिहासमा पहिलो पटक स्थानीय लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा लागू गरिएको स्मरणमा वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

कार्यक्रममङा धर्मगुरु आत्मानन्द लिङदेनले धार्मिक प्रवचन समेत दिएका थिए ।

पाँच जना स्वयमस्वकलाई सम्मान

कार्यक्रममा यसअघि वडामा कार्यरत दोभासे स्वयम्सेवकलाई सम्मान गरिएको छ । १ वर्ष भाषा अनुवादकका रुपमा दोभासे स्वयमसेवक गरेका दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र खेसेहाङमा थेगिमलाई सम्मान गरिएको हो । उनीहरुलाई वडा कार्यालयको तर्फबाट सम्मानका साथ विदाई गरिएको छ । वडामा ‘लिम्बू भाषा’ कामकाजी घोषणा भएपछि दोभासे कर्मचारी व्यवस्थापन नुहँदा उनीहरुले स्वयम्सेवकका रुपमा सहयोग गरका थिए ।

गत १३ मंसिरमा माङसेबुङ गाउँपालिका ५ मा पहिलो पटक ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा घोषणा गरिएको थियो । वडाका कूल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी लिम्बू समुदायको बसोबास रहेको सो वडामा नेपालमै पहिलो पटक स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो ।

‘लिम्बू भाषा’ र ‘किरात सिरिजंगा लिपि’ को आधार क्षेत्र रहेको सो वडामा भाषा र लिपिलाई सरकारी कामकाजमा प्रयोग सुरु गरिएको थियो । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरि सञ्चालन भइरहेको छ ।

वडामा दोभासे कर्मचारीको पदस्थापन

वडा कार्यालयमा एक समारोहका बीच नवनियुक्त भाषिक कर्मचारी ९दोभासे० पदस्थापन गरिएको थियो । गाउँपालिकाले नियुक्त गरेको सहायक चौथो तहका भाषिक कर्मचारी (दोभासे) कर्मचारी सुनिल शेर्मालाई धर्मगुरु आत्मानन्द लिङदेन समेतको उपस्थितीमा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो, उपाध्यक्ष सुनिता सुब्बा, वडा अध्यक्ष नरेन्द्रकुमार राईलगायतको उपस्थितीमा स्वागत र पदस्थापन गरिएको हो ।

शेर्मा बिहीबार माङसेबुङ गाउँपालिकाले संचालन गरेको भाषिक कर्मचारी (दोभासे) को परिक्षामा उत्तीर्ण भई शुक्रबारदेखि ५ नम्बर वडा कार्यालयमा पदस्थापन भएका हुन् । माङसेबुङ गाउँपालिकाले पहिलोपटक लिम्बू भाषालाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको हो ।

Leave a Reply

Your email address will not be published.