युवराज आचार्य
झापा, मंसिर २६ । किराँत समुदायको बाक्लो बसोबास रहेको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लासहितका पुर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक तङ्नाम शुरु भएसँगै यसको रौनकताले छपक्कै छोपेको छ ।
प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ। बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाइँदैछ । विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामूहिक रुपमा पूजाआजासहितका कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाउँदैछन् । धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादरका रुपमा यस पर्वलाई मनाउँदै आएका छन् ।
लिम्बू समुदायमा आदिमकालदेखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ । अन्नलाई किराँत समुदायले माङ् ९देवता० का रुपमा मान्ने गर्छन् । धान पाक्ने मौसम कार्तिकदेखि धान्य पूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रुपमा समेत लिइन्छ ।
‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा पूजाआजासहित आयोजना गरिन्छ । पर्वमा किराँत समुदायको परम्परागत वेशभूषा र गरगहनाको पहिरनसहित पालाम, धान नाच र च्याब्रुङ नाचसमेत नाच्ने गरिन्छ ।
यता किराँत समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किराँत समुदाय विशेष सङ्घसंस्था पनि सक्रिय हुन थालेका छन् । चासोक तङ्नाम लिम्बू समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा धुमधामले मनाउने गरिन्छ । यस्तै देशका अन्य क्षेत्र तथा विदेशमा बसोबास गर्दै आएका लिम्बू समुदायले समेत चासोक तङ्नामका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

