झापा, माघ १६ । मेचीनगर प्रमुख विमल आचार्यले बुधबार पत्रकार सम्मेलन गरी तीन दलले केही दिनअघि बुझाएको ज्ञापन पत्रका बारेमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
नेपाली काङ्ग्रेस, समाजवादी पार्टी र राप्रपा नगर समितिले संयुक्त रूपमा नगरपालिकाको कार्यशैलीप्रति विरोध जनाएका थिए । ती पार्टीले समग्र नगरका विकासे योजनाहरु अगाडि बढाउन नसकेको भन्दै आलोचनासहितका मागहरु नगरपालिका समक्ष बुझाएका थिए ।
राजनीतिक दलहरुले बुझाएको मागप्रति लक्षित गर्दै प्रमुख आचार्यले भने, धेरै कामहरु भएका छन् । केही प्रक्रियामा रहेकाले ढिलासुस्ती भने पक्कै भएको छ ।’
समग्र नगरलाई समृद्ध बनाउने अभियानमा आफूहरु लागि परेको बताउँदै प्रमुख आचार्यले जनताको चाहनालाई सम्बोधन गर्नेगरी योजनाहरु अगाडि बढिरहेको स्पष्ट पारे । उनले सबै पार्टी नेतृत्व अभिभावक भएको चर्चा गर्दै उठाइएका मागहरुलाई सकारात्मक रुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।
त्यसैगरी उपप्रमुख मीना उप्रेती पोखरेलले राजनीतिक दलहरुले उठाएका धेरै योजनाहरु अगाडि बढेको बताएकी छन् । उनले ज्ञापन पत्रमा भनेजस्तो अल्पमत र बहुमतको खेलमा नगरपालिका नरहेको स्पष्ट पारिन् ।
उपप्रमुखले जनताको न्यायका लागि न्यायिक समिति पूर्वाग्रही नभई सम्पादनमा लागि परेको बताइन् ।

