नरेन इलामेली
इलाम, फागुन १५ । पुर्वी पहाडकै लोकप्रिय फुटबल प्रतियोगिता छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा गोखा ब्वाइज रुपन्देहीले विजयी सुरुवात गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा बिहिबारबाट सुरु भएको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीले भारतीय टीम कोहिमा इगल फूटबल क्लब नागाल्याण्डलाई ४— ० गोलको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
रुपन्देहीको शानदार जितका लागि हमजत र फोडे फोन्नाले १—१ र शक्ति राईले २ गोल गर्दै ४—० को नतिजा दिलाएका हुन् । खेलको म्यान अफ दी म्याच रुपन्देहीका शक्ति राई घोषित हुँदै नगद दश हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार (भोली) आयोजक माइभ्याली फूटबल क्लब इलाम र भारतीय टीम ग्यान्टोक सिटी फूटबल क्लब सिक्किम मैदान उत्रने छन् ।
पूर्वी पहाड कै सर्वाधिक धन राशी भएको यस प्रतियोगितामा भारतीय टीमहरु नागाल्याणको कोहिमा इगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल क्लब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लब, काठमाण्डौको मछिन्द्र क्ल्ब, त्रिभूवन आर्मी क्ल्ब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहको छ ।
माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता आगामी २४ फागुन सम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तेै हरेक खेलको म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेण्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

