काठमाडौं, बैशाख १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख १७ हजार ७६३ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् । संक्रमित भएका ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ ।
कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।
स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् ।
फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् ।
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ ।
कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २६ हजार ४२२ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६४ हजार ३९९ जनाको मृत्यु भएको छ ।
यस्तै एसियाली मुलुकहरुमा १७ हजार ९१०, अफ्रिकी मुलुकहरुमा १ हजार ५२७ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०७ जनाको मृत्यु भएको छ ।

