नयाँदिल्ली, बैशाख ३० । भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारदेखि सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको उक्त निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुने छन् ।
मंगलबार दिल्लीबाट राँची, भुवनेश्वर, सिकन्दारावाद, बेग्लुरु, चेन्नई, तिरुबन्तपुरम, मगगाउँ, मुम्बई सेन्ट्रल, अहमदाबाद, दिब्रुगढ, अगरताला, हावडा, पटना, बिलासपुर र जम्मूसम्म रेल सञ्चालन हुने भएको छ । भारतको रेल्वे विश्वकै ठूलो सार्वजनिक यातायात सेवामध्येमा पर्छ । जसअन्तर्गत दैनिक ११ हजार रेल सञ्चालन हुने गर्छन् । यीमध्ये सात हजारभन्दा बढी यात्रुवाहक रेल छन् । जसबाट दैनिक १ करोड ३० लाखभन्दा बढीले यात्रा गर्ने गर्छन् ।

