काठमाडौं, जेठ २२ । नेपालमा आज एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा आज एकैपटक ३३४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १२ जनाले कोरोना भाइरस लाई जितेर घर फर्किएका छन् ।

