काठमाडौँ असार १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा सरकारले जारी गरेको नयाँ नक्सा र सीमा समस्याका बारेमा शुक्रबार नेताहरूले धारणा राख्नुभएको छ । उहाँहरूले नेपाल–भारतबीच देखिएको सीमा समस्या कूटनीतिक माध्यम प्रयोग गरी वार्ता र छलफलबाट समाधान गर्न पनि पार्टी तथा सरकारलाई सुझाव दिनुभएको छ ।
सो बैठकमा नेपालले वार्ता र छलफलबाट सीमा विवाद सुल्झाउन पहल गरे पनि भारतले त्यसमा चासो नदेखाएको स्पष्ट पारिएको छ । प्रधानमन्त्री निवासमा बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकको दोस्रो दिन शुक्रबार बोल्ने अधिकांश नेताले सीमा समस्या सुल्झाउन भारतले चासो नदेखाएको धारणा राख्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । साथै कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायत अन्य अतिक्रमित जग्गा फिर्ता ल्याउन कूूटनीतिक माध्यमबाट पहल गर्न नेताले जोड दिनुभएको उहाँले बताउनुभयो ।
शुक्रबारको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, प्रदीप ज्ञवाली, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठ गरी १८ नेताले धारणा राख्नुभएको थियो ।

